[Show all top banners]

taraniraula

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कुन एउटा कुरा बुझेमा सबै जान्न सकिन्छ
[VIEWED 7739 TIMES]
SAVE! for ease of future access.
Posted on 01-28-16 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस विश्वब्रह्माण्डमा दृष्ट वा अदृष्ट वस्तुको गणना गर्न सकिँदैन । गन्न सकिएका वस्तुजात, पदार्थहरूको पनि यथार्थ परीक्षण वा सम्यक समीक्षण गर्नु निश्चय नै असम्भव छ। यसकारण जगत्‌को रहस्यमयता वा अनिर्वचनीयता सुस्पष्ट हुन्छ।हामी बाँचुन्जेल नै आफ्नो जीवनकालमा अनेक वस्तुहरू र तद्गत वैलक्ष्यण्य पाउँछौं। निरन्तर नयाँ नयाँ कुराको अनुभव गरेका हुन्छौं। तर यस्ता अनुभव सँगसँगै ‘यो के होॽ केका निमित्त होॽ’ जस्ता जिज्ञासा हामीमा थुप्रिन्छन्। यस प्रकारका जिज्ञासाहरूको समाधान प्रत्येक वस्तुहरूको निरीक्षण र परीक्षणबिना सम्भव हुँदैन। अर्कातिर छोटो जीवन, क्षमताको अभाव, साधनको अभाव आदि कारणले कुनै एक व्यक्तिका लागि सम्भव हुने कुरा पनि छैन।

यसैले त्रिकालदर्शी हाम्रा पूर्वजहरूले- ‘कस्मिन् विज्ञाते सर्वं विज्ञातं स्यात्ॽ’ अर्थात् ‘कुन् यौटा कुरा बुझेमा सबै जान्न सकिन्छ’ भन्ने कुरामा बडो मन्थन गरेर जो सूत्र परिपाटीको स्थापना गरेका छन्, यी सूत्र नै जिज्ञासा समाधानका उपाय हुन्। यिनै सिद्धान्तनौकामा चढेर मात्र हामीहरू दुस्तर तर्कसागर तर्न सक्छौँ। अन्यथा सम्भव छैन। प्रकृतिका कतिपय यस्ता नियमहरू छन्, जो अकाट्य, अभेद्य वा अलङ्घ्य छन्। जुन जान्नाले अनन्तपार शङ्कापङ्कहरू आँफै सुक्छन्, जिज्ञासा समाहित हुन्छन्। यही नै वैदिक सनातनधर्मीको सिद्धान्तवाद हो । यही नै सनातन धर्मको अभेद्यभित्ति पनि हो । 

त्यस्ता केही सिध्दान्तहरूको यहाँ पुरःस्थापन गर्न खोजिएको छ ।

पहिलो :—
विश्वमा कुनै पनि यस्तो वस्तु छैन, जो चिन्मात्र वा जडमात्र प्रतीत हुन्छ। प्रत्येक जड वस्तु चेतनबाट अधिष्ठित छ, त्यस्तै प्रत्येक चेतन जडको अधिष्ठान हुन्छ। यी दुई चित्तत्व र जडतत्वमध्ये जसको बढी विकास भएको छ त्यसैको तारतम्यमा हामी ‘यो जड वा यो चेतन’ भनेर व्यवहार गर्दछौँ। जस्तोकि मृत्पाषाणादि स्थावर वस्तु ‘जड’ र कीटपतङ्ग पशु मनुष्यादि जङ्गम वस्तु ‘चेतन’ भन्ने गर्दछौँ। परन्तु गहिरिएर विचारेमा विशुध्द चेतनमात्र या विशुध्द जडमात्र वस्तु फेला पर्दैन मात्र हैन फेलापार्न सकिँदैन। यसैले यो विश्वब्रह्माण्ड चित् र जडको विमिश्रित संघातको विपरिणाम मान्न सकिन्छ। संक्षेपमा यो ब्रह्माण्ड नै चित् जडको ग्रन्थि हो।

महाभारतमा श्री भीष्मपितामहले वृक्षवनस्पतिहरूमा जुन चैतन्यसत्ता छ भनेर बताएका थिए, श्री जगदीश वसु नामक वैज्ञानिकले वृक्ष वनस्पतिमा चेतनाका लक्षण – देख्‍नु, सुन्नु, सुँघ्नु आदि यन्त्रद्वारा सुस्पष्ट देखाइदिएर वनस्पति चैतन्यका रहस्यको उद्‍घाटन गरिदिए। हिजोआज सबै यसमा विश्वास राख्छन्।

हाम्रा पुरातन आर्य साहित्यहरूमा केवल वृक्षवनस्पतिमा मात्र चिद्विलासको वर्णन भएको हैन, मृत्पाषाणादिमा पनि चित्प्रसङ्गको उल्लेख छ। कालान्तरमा वैज्ञानिकहरू यस तथ्यमा पुग्लान् भन्ने आशा गरौँ । वस्तुतः जस्तो मानवादिको शरीर चेतनाधिष्ठित हुँदासम्म ‘जीवित’ भनिन्छ चेतनतत्वले छोडेपछि ‘मृत’ भनिन्छ। त्यस्तै मृत्पाषाणादिका पनि जीवन र मरण हुन्छन्। अर्थात् यी पनि बाँच्छन्, मर्छन्। ढुङ्गा मरेपछि अर्थात् चेतनतत्व ढुङ्गाबाट हटेपछि फसफस हुन्छ, चम्किलोपन रहँदैन, ढुङ्गाले दिनुपर्ने काम दिन सक्दैन। त्यसैले यस्ता पाषाणादि मृत हुन्। यस्तै माटोको चाकचिक्य नभएमा ‘मृत मृत्तिका’ हुन्छ। यी कुरा ढुङ्गा कुद्‍ने, माटोको काम गर्ने विधिज्ञहरूबाट अझ छर्लङ्गिन्छन्। त्यसैले सजीव र निर्जीव देहको जीवितत्व र मृतत्व जस्तै ढुङ्गामाटाका पनि हुन्छन्।

परन्तु ‘स्थूलांशाधिक्यले वृक्ष पाषाणादि जड, सूक्ष्मांशाधिक्यले पशुमनुष्यादि चेतन’ भन्ने हामी व्यवहार गर्दछौँ। वास्तवमा चेतनबाट जडको वा जडबाट चेतनको पृथक्करण असम्भव छ अथवा पृथक्करण भएमा वस्तुनिष्ठ सत्ता रहँदैन। यसैले यी दुवै जड चेतन तत्व परस्परमा आश्रित छन्, अपरिहार्य पनि छन्। यौटाको अभावमा अर्काको पनि स्वरूपतः अभाव हुन्छ। यो प्राकृत सत्य हो। चित् परमात्मा हो, जड परमात्माधिष्ठित वस्तु हो। एतावता यो विश्व ब्रह्माण्ड चित् र जडको ग्रन्थि हो भन्ने छर्लङ्ग हुन्छ।

दोस्रो—
जसरी यौटै वस्तुमा जड र चेतन दुवै तत्व अपरिहार्य छन्, त्यस्तै प्रत्येक वस्तुमा समानरूपले स्थूलभाव र सूक्ष्मभाव हुन्छन्। मानवादिको शरीर स्थूलतत्व हो भने तदन्तर्गत चेतन आत्मा सूक्ष्मतत्व हो। फुल स्थूल हो भने त्यसको गन्ध सूक्ष्मतत्व हो। यस्तै खाद्य पदार्थहरू स्थूलतत्व हुन्, तिनमा पाइने रस वा स्वाद सूक्ष्मतत्व हो। 

प्रत्येक पदार्थको स्थूलांशमा आकार प्रकार, आयतन, परिमाण आदि हुन्छन्, जो प्रत्यक्ष छन् पनि। परन्तु सूक्ष्मांशका आकार प्रकार, लम्बाइ चौडाइ हुँदैनन्। देखिंदैनन् पनि। शरीरको हिसाबले मानिस कालो, गोरो, सेतो, मोटो, दुब्लो हुन्छ, तर शरीरान्तर्वर्ती, शरीराधिष्ठान, चेतन् जीवात्मा न कालो, न सेतो, न दुब्लो, न मोटो – केही हुँदैन, भनिंदैन पनि। त्यस्तै फुलको पनि स्थूल अंशमा मात्र रङ्ग, रूप, गोलो, लाम्चो, बाटुलो आदि आकार प्रकार हुन्छन्, सूक्ष्मांश गन्धमा केही हुँदैन। आम्रादि फलको पनि आकार प्रकार हुन्छन्, तर तिनको रस वा स्वादमा कुनै आकार प्रकार रूप रङ्ग भन्ने हुँदैन। 

त्यसैले प्रकृतिको यो अनुल्लङ्घनीय नियम छ कि यस विश्वब्रह्माण्डका सबै वस्तुजातहरूमा स्थूलतत्वको अतिरिक्त सूक्ष्मतत्व पनि अपरिहार्य रहन्छ। यी दुवै तत्व एक आपसमा संबध्द छन्। अलग्याउन पनि सकिन्नन् । यसैले प्रत्येक स्थूलपदार्थ सूक्ष्माधिष्ठित छ, प्रत्येक सूक्ष्मतत्व स्थूलांशको अधिष्ठान हो। यो प्रकृतिको अर्को अकाट्य नियम हो।

"रसोऽहमप्सु कौन्तेय!" गीतामा श्रीकृष्णले भन्नु भएको छ। यही सूक्ष्मतत्व नै परमात्मा हो। यो सबबाट विश्वब्रह्माण्ड स्थूलसूक्ष्म उभयात्मक छ भन्ने कुरा सिध्द हुन्छ।

तेस्रो—
त्यस्तै नित्य र अनित्य दुई किसिमका वस्तु छन्। नित्य भनेको शाश्वत, सनातन वस्तु, जो सदा रहन्छ। यसको विपरीत वस्तु अनित्य हो, जो क्षणक्षणमा विपरिणत वा नष्ट हुन्छ। निरुक्तकारले प्रत्येक वस्तुका षड्भाव विकार मानेका छन्। जस्तो – सत्ता, जन्म, वृध्दि, विपरिणाम, अपक्षय र विनाश। तर वेदान्तीहरू ब्रह्मतत्व वा आत्मालाई नित्य मान्छन्, नैयायिकहरू परमाणुलाई नित्य मान्छन्। तज्जन्य अर्थात् परमाणुबाट बन्ने अणु, द्वयणु, त्रसरेणु सबै विपरिणामी अनित्य हुन् भन्दछन्। यस्तै ब्रह्ममा विवर्तमान जगत् सबै अनित्य भनेर वेदान्ती भन्छन्। यसकारण यो विश्वब्रह्माण्ड नित्य, अनित्यवस्तुको यौटा संघात हो। जडचेतन, स्थूलसूक्ष्मको विमिश्रित संघात जस्तै। दृश्यजगत् सबै अनित्य हो विपरिणामी हुनाले, परमात्मा वा ब्रह्मतत्व नित्य हो शाश्वत हुनाले। नित्यवस्तुको अधिष्ठानमा परिदृश्यमान हुनाले यो ब्रह्माण्ड पनि नित्य-अनित्य उभयात्मक छ भन्ने स्पष्ट हुन्छ।

चौथो—
पदार्थहरू दृष्ट, अदृष्ट दुई प्रकारका हुन्छन्। आँखा, कान, छाला, जिभ्रो, नाक यी पाँच ज्ञानेन्द्रियबाट जुन पदार्थहरू साक्षात् जानिन्छन् ती दृष्ट, प्रत्यक्षका विषय मानिन्छन्। जुन पदार्थहरू अन्तःकरणद्वारा अनुभव गरिन्छन्, ती अदृष्ट, परोक्षविषयक संझिइन्छन्। दृष्ट र अदृष्ट संझनुको हाम्रो मान्यता यसै प्रकारको छ।

वास्तवमा आँखा खाली केरा, सुन्तला आदि फलहरूको रङ्ग,रूप, ठुलो, सानो, आकार, प्रकार आदि छुट्याउन सक्छ अर्थात् देख्छ। त्यस भित्रको रसको स्वाद लिन सक्दैन। आँखाले रसको स्वाद लिन नसकेतापनि स्वाद छैन भन्न मिल्दैन। यद्यपि गाढा अन्धकारमा पनि जिभ्रोले केरा आदि फलको स्वाद लिन्छ, परन्तु फलको रङ्ग रूप आकार जान्दैन। जिभ्रोले रङ्ग रूप जानेन भन्दैमा रङ्ग रूप छैन भन्न मिल्दैन। यसैले यौटा ज्ञानेन्द्रिय गोचर भएपछि चाक्षुष प्रत्यक्ष भएन भन्दैमा परोक्ष विषय भन्न मिल्दैन। त्यो वस्तु प्रत्यक्ष विषयक दृष्ट नै मान्नु पर्दछ।

जस्तो- त्यस्तै, ज्ञानेन्द्रियहरूको विषय नहुने वस्तुहरू पनि मानस साक्षात्कारका विषय हुन्छन् – जस्तो सुखदुःख आदि। यसैले अन्तःकरणका विषयवस्तुहरू पनि प्रत्यक्षविषय हुन् भन्ने मान्नु पर्दछ। बाह्यकरणको विषय र अन्तःकरणको विषय भन्ने मात्र फरक हो, साक्षात्कारका विषय दुवैथरी हुन्।

यसैगरी समाधिनिष्ठ योगीजनहरू अवाङ्‍मनोगोचर तत्व पनि बुध्दिमा प्रतिभासित भएको कुरा करामलकवत बताउँछन्। यसको पनि अपलाप गर्न मिल्दैन। यसकारण जस्तो दृष्ट पदार्थहरूको प्रत्यक्षीकरणका प्रमाण ज्ञानेन्द्रियहरू हुन्, त्यस्तै अदृष्ट तत्वहरूको पनि साक्षात्करणमा अन्तःकरण = मनः, बुध्दि – प्रमाण हुन्छन्। यसैकारण त भनिएको पनि छ – "सतां हि सन्देहपदेषु वस्तुषु प्रमाणमन्तःकरण प्रवृत्तयः" अर्थात् – कुनै कुरामा सन्देह भएमा आफ्ना अन्तःकरणका प्रवृत्तिहरू नै प्रमाण हुन्छन्। यस प्रकार दृष्ट र अदृष्ट दुईथरी पदार्थ हुन्छन्। परमात्मा यद्यपि अदृष्ट छ, तदपि अन्तःकरणमा प्रतिभासित हुन्छ। यसैले "हृद्देशेऽर्जुनतिष्ठति" गीता भन्दछ।

पाँचौँ—
यस्तै सादि र अनादि दुई प्रकारका वस्तु हुन्छन्। जसको आदि (कारण) छ - त्यो सादि, जसको आदि (कारण) छैन – त्यो अनादि। “मूले मूलाऽभावादमूलम्” अर्थात् सुरुमा अर्को मूल (कारण) नहुनाले अमूल वा अनादि मान्ने व्यवस्था अनुसार जो अर्काको अपेक्षाबिना भएको छ र आँफू अर्काको मूल पनि छ त्यो अनादि हुन्छ- जस्तो वेदान्तीको ब्रह्म। सर्वथा यसको विपरीत जसको मूल अर्को छ अर्थात् जो कोहीबाट यदाकदा उत्पन्न भएको छ भने त्यो सादि हुन्छ। यो परिदृश्यमान जगत् सादिको उदाहरण हो। किनभने जगत् वेदान्तमतमा ब्रह्मबाट बन्न आउँछ।

हुन त वेदान्तीहरू “सर्वं खल्विदं ब्रह्म” भनेर सम्पूर्ण जगत्‌कै ब्रह्ममयता मान्छन् तदपि जगत्‌को विपरिणमन भैरहने हुनाले र अधिष्ठान सत्ता ब्रह्ममा प्रतिभासित हुनाले दृश्य जगत् सादि हो। यो अनादि सादिवाद पनि वस्तुतः सृष्टिमा पहिले कुखुरा थियो कि अण्डा थियो? बीज थियो कि अङ्कुर थियो? कुखुरा नभए अण्डा बन्दैन, अण्डा नभए कुखुरा बन्दैन, बीज नभए रुख उम्रदैन, रुख नभए बीज लाग्दैन – यो अनवस्था दोष हटाउनका लागि मानिएको हो। 

कुन वस्तु अनादि र कुन वस्तु सादि भन्ने कुरामा दर्शनकारहरूमा विवाद भएतापनि यो अनादि सदावाद सर्वसम्मत छ। अनादि ब्रह्म हो – सबैको मूल हुनाले सायद यो परिदृश्यमान जगत् हो ब्रह्मबाट उत्पन्न हुनाले।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters